सडकमा पैदलयात्रीलाई मुक्का हान्ने कार चालकको खोजीमा प्रहरी

nepaltext.com

काठमाडौँ । काठमाडौँको बीच सडकमा एक पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कार चालकको प्रहरीले खोजी सुरु गरेको छ। सामाजिक सञ्जालमा कार चालकले पैदलयात्रीलाई कुटपिट गरेको भिडियो भाइरल बनेपछि प्रहरीले सक्रियता देखाएको हो।

सार्वजनिक भएको भिडियोमा साझा यातायातको बस समेत देखिएकाले उक्त घटना काठमाडौँ उपत्यकाभित्रै भएको अनुमान गरिएको छ। भिडियोमा कारबाट झरेका एक व्यक्तिले पैदलयात्रीलाई गालीगलौज गर्दै मुक्का हानेको देखिन्छ भने त्यसलगत्तै अर्की एक महिलाले पनि आएर गाली गरेको सुनिन्छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले भिडियो प्राप्त भइसकेको र दोषीको पहिचानका लागि अनुसन्धान अघि बढाइएको जानकारी दिए। "हामीले उक्त भिडियो प्राप्त गरिसकेका छौँ। कारको नम्बर र व्यक्तिको पहिचानका लागि टोली खटिएको छ," एसपी भट्टराईले भने, "कानुन हातमा लिने जोकोहीलाई पनि हामी कारबाहीको दायरामा ल्याउँछौँ।"

ट्राफिक नियम वा बाटो काट्ने विषयमा विवाद हुँदा चालकले अभद्र व्यवहार गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले सीसीटीभी फुटेज र भिडियोका आधारमा कार र संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको छ।

प्रतिक्रिया