उज्यालो–रास्वपा एकीकरणलाई कोशी कमिटीको स्वागत, पहिचान पक्षधर असन्तुष्ट

nepaltext.com

विराटनगर l उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको विषयलाई लिएर आन्तरिक असन्तुष्टि सार्वजनिक भइरहँदा कोशी प्रदेश कमिटीले भने उक्त एकीकरणलाई स्वागत गरेको छ। तर पहिचान पक्षधर केही नेताहरू यस प्रक्रियाबाट अलग्गिएको भन्दै संरक्षक कुलमान घिसिङले पहिचानको मुद्दा छाडेर पार्टी विलय गराएको आरोप लगाएका छन्। कोशी प्रदेश तदर्थ कमिटीले विज्ञप्ति जारी गर्दै आम नागरिकमा देखिएको परिवर्तनको चाहनालाई व्यवहारमा रूपान्तरण गर्न पार्टी एकीकरण गरिएको स्पष्ट पारेको छ। तदर्थ कमिटीका अध्यक्ष एवीराज आङ्दम्बे र प्रवक्ता केदार धिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘पुराना भ्रष्ट प्रतिगामी तथा यथास्थिति शक्तिहरूलाई परास्त गर्न पार्टी एकीकरण भएको’ उल्लेख गर्दै सु–संस्कृत पार्टी निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ। साथै, पूर्वघोषित पार्टीका सबै कार्यक्रम माथिल्लो कमिटीबाट अर्को सूचना नआएसम्म स्थगित गरिएको जनाइएको छ।

बालेनलाई साक्षी राखेर रविसँग कुलमानले गरेको एकता सहमतिपछि कोशी प्रदेशमा रहेका उज्यालो नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूले संघीयता, धर्म निरपेक्षता र पहिचानको पक्षमा मौन रहेको आरोप लगाउँदै एकीकरणको विरोध गरेका थिए। उज्यालो नेपाल पार्टीको कोशीका विभिन्न जिल्लामा गठित तदर्थ समितिमा पहिचान आन्दोलनबाट आएका अधिकांश नेता सामेल रहेका छन् भने पहिचान पक्षधर डकेन्द्रसिंह थेगिमले एकता नमान्ने स्पष्ट गरिसकेका छन्। यस्तै, रास्वपाको समानुपातिक सूचीमा परेका प्रोफेसर डा. महेन्द्र लावतीले पनि आफ्नो नाम परेको र एकता प्रक्रियाप्रति असन्तुष्टि जनाएका थिए।

प्रतिक्रिया