काठमाडौँका ५५ ठाउँमा प्रहरी परिचालन गरेर ग्यास वितरण

nepaltext

काठमाडौं । खाना पकाउने ग्यासको अभाव देखिएपछि प्रहरीले परिचालन गरेर काठमाडौंमा ग्यास वितरण सुरु गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबारदेखि प्रहरीको निगरानीमा विभिन्न डिपोबाट ग्यास वितरण थालेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार काठमाडौंका ५५ वटा ग्यास डिपोमा प्रहरी परिचालन गरी ग्यास वितरण गरिएको छ । उनका अनुसार शनिबार मात्रै ७ हजार ७३६ सिलिन्डर ग्यास वितरण भएको छ ।

वितरण भएका सिलिन्डरमध्ये ३ हजार १८९ वटा सर्वसाधारणलाई र ३ हजार ३९ वटा व्यावसायिक प्रतिष्ठानलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ ।

सुकेधारास्थित श्री ग्यास डिपोबाट मात्रै होटल तथा अन्य व्यावसायिक प्रतिष्ठानलाई २ हजार ८ सय सिलिन्डर ग्यास वितरण गरिएको एसएसपी घिमिरेले जानकारी दिए ।

यस्तै, टोखास्थित जय कालिका ग्यास डिपोबाट २३४ सिलिन्डर ग्यास सर्वसाधारणलाई वितरण गरिएको छ ।

ग्यासको अभावसँगै हुन सक्ने कालोबजारी र अनियमितता नियन्त्रण गर्न काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया