काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज बस्ने पार्टीको केन्द्रीय समितिको बैठकबाट हुने निर्णयले देशभर नयाँ राजनीतिक तरंग पैदा हुने दाबी गरेका छन् । बैठकअघि सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीले आजैदेखि नीति र नेतृत्व दुवै परिवर्तन गरेर औपचारिक रूपमा चुनावी मैदानमा होमिने बताए । पौडेलका अनुसार कांग्रेसले यसपटक प्रधानमन्त्री को बन्ने भन्ने विषय जनताकै हातमा छोड्न चाहेको छ, त्यसका लागि भावी प्रधानमन्त्रीको नाम अगाडि सारेर निर्वाचनमा जाने रणनीति तय गरिएको हो ।
‘लोकतान्त्रिक पद्धतिको विकास कांग्रेसले प्रक्रियागत ढङ्गबाट सुरु गर्दैछ,’ उनले भने । उनले नेपालको राजनीतिक र सामाजिक जग मधेश रहेको उल्लेख गर्दै पार्टी सभापति गगन थापाले उम्मेदवारीका लागि सर्लाही रोज्नुको अर्थ पनि यही भएको बताए ।
‘हाम्रो सभापति मधेशबाट निर्वाचित भएर आइसकेपछि देश जोडिनेछ, देश नयाँ संकल्पका साथ अगाडि बढ्नेछ । सबै नेपालीको भावना प्रतिनिधित्व गर्न सभापतिलाई सर्लाही–४ बाट अघि सारेका छौँ,’ पौडेलले स्पष्ट पारे । सभापति मधेशबाट निर्वाचित भएर संसद् प्रवेश गरेपछि मधेशका मुद्दा राष्ट्रिय प्राथमिकतामा पर्ने उनको विश्वास छ ।