काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसभित्र नेतृत्व, दिशा र रणनीतिलाई लिएर बहस चर्किएको छ। यही सन्दर्भमा चुनावअघि नै पार्टी नेतृत्व परिवर्तनको पक्षमा उभिएका कांग्रेस संस्थापन पक्षका २५ भन्दा बढी केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन पक्षधरहरूसँग संवाद र सहमतिको पहल गर्न नेतृत्व तहलाई सार्वजनिक अपिल गरेका छन्। सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै कांग्रेसलाई जनताको नजरमा अझ विश्वसनीय र भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न समयमै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूका अनुसार पार्टीभित्र बढ्दो असन्तुष्टि र मागलाई बेवास्ता गर्दा निर्वाचनमा नकारात्मक सन्देश जान सक्ने भएकाले संवादमार्फत समाधान खोजिनु अपरिहार्य छ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस परिवेशमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ। अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भइ कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं।’ वक्तव्यमा परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात् गर्दै नयाँ सोच र दृष्टिकोणका साथ चुनावी मैदानमा उत्रिन सके मात्र कांग्रेसले संगठनात्मक मजबुतीसँगै जनविश्वास पुनःआर्जन गर्न सक्ने धारणा व्यक्त गरिएको छ।