काठमाण्डौँ महानगरको मेयर हुनु प्रधानमन्त्री हुनु भन्दा कम चुनौती थिएन, फोहोर व्यवस्थापनमै पनि अन्तर्राष्ट्रिय दबाब थियो: बालेन शाह

nepaltext.com

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहले काठमाडौं महानगरभित्र विभिन्न तहमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन्। उनले महानगरको नेतृत्व गर्नु प्रधानमन्त्री बन्नुभन्दा कम चुनौतीपूर्ण नभएको जिकिरसमेत गरेका छन्।

झापा–५ का मतदातासँगको संवाद कार्यक्रममा बोल्दै शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा समेत अन्तर्राष्ट्रिय चलखेल भएको दाबी गरे। छलफलका क्रममा एक मतदाताले राष्ट्रिय सरकार सञ्चालन गर्दा अन्तर्राष्ट्रिय दबाब र चलखेल हुनसक्ने उल्लेख गर्दै त्यसप्रति उनको योजना के हुन्छ भन्ने प्रश्न गरेका थिए। जवाफमा शाहले महानगरको नेतृत्व सम्हाल्दाको अनुभव उल्लेख गर्दै प्रधानमन्त्रीको जिम्मेवारीभन्दा कम चुनौती नरहेको तर्क गरे। उनले भने, ‘अन्तर्राष्ट्रिय चलखेल महानगरमा कुन हदसम्मको थियो भनेर तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न।’

मतदाताले पुनः ‘म अन्तर्राष्ट्रिय चलखेलसँग झुक्दिनँ भनेर नेपाली जनतासँग भन्न सक्नुहुन्छ?’ भनी प्रश्न गर्दा शाहले आफू नेपाली जनताकै बीचबाट आएको उल्लेख गर्दै उदाहरणका रूपमा काठमाडौंको फोहोर व्यवस्थापनसम्बन्धी विषय उठाएका थिए। उनले भने, ‘यहाँ हामी सबै नेपाली जनता नै छौँ नि, उदाहरणको लागि काठमाडौंको फोहोर व्यवस्थापनसमेत चलखेल हुन्थ्यो। त्यसैले प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन।’

शाहले आफ्नो कार्यकालमा सुकुम्बासी बस्तीमा डोजर चलाएको आरोपप्रति स्पष्टीकरण दिँदै बाढीको जोखिमका कारण विस्थापन गराइएको जिकिर गरे। साथै, आफूले आगामी निर्वाचन जितेमा झापा–५ का सुकुम्बासीलाई धनीपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया