रास्वपाले ध्वनी प्रदुषण हुनेगरी घण्टी बजाएर निर्वाचन आचारसंहिता उल्लंघन गरेको छ, निर्वाचन आयोग मौन बस्नु विडम्बनाः राप्रपा प्रवक्ता मोहन श्रेष्ठ

श्याम खतिवडा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ। राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले एक वक्तव्य जारी गर्दै रास्वपाका गतिविधिप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

प्रवक्ता श्रेष्ठले रास्वपाले देशव्यापी रूपमा घण्टी बजाएर ध्वनि प्रदूषण गराउँदा समेत निर्वाचन आयोग 'नदेखेझैँ' र 'नसुनेझैँ' गरी बसिरहेको भन्दै आपत्ति जनाए। उनले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाउँदै आयोगको मौनतालाई विडम्बनापूर्ण बताएका छन्।

वक्तव्यमा प्रवक्ता श्रेष्ठले रास्वपाको शैलीमाथि व्यङ्ग्य गर्दै भनेका छन्, “निर्वाचन आचारसंहिताको पालना गर्ने र गराउने सवालमा गम्भीर हुन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं। घण्टी चिह्न हुने दलले ध्वनि प्रदूषण हुने गरी घण्टी बजाउँदै देशव्यापी निर्वाचन आचारसंहिता उल्लंघन गरिरहँदा आयोगले नदेखेजस्तो, नसुनेजस्तो गरिरहनु विडम्बनापूर्ण छ। खुकुरी चिह्न हुने दलले खुकुरी नचाउँदै हिँड्ने वा डोजर चिह्न हुने दलले सडक र राजमार्ग अवरुद्ध हुने गरी डोजर चलाउँदै हिँड्ने अवस्था आयो भने निर्वाचन आयोगका लागि त्यो पनि स्वीकार्य हुन सक्छ?”

त्यस्तै, राप्रपाले रास्वपाका कार्यकर्ताहरूले राजा वीरेन्द्रको शालिकमाथि चढेर झण्डा जलाउने जस्ता अराजक गतिविधि गरिरहेको आरोप समेत लगाएको छ। यस्ता दुर्व्यवहार र उच्छृङ्खल गतिविधिप्रति रास्वपाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने प्रवक्ता श्रेष्ठले माग गरे।

पछिल्लो समय निर्वाचनको प्रचारप्रसार तीव्र भइरहँदा दलहरूबीच एक-अर्कालाई आचारसंहिता उल्लंघनको आरोप लगाउने क्रम बढेको छ। निर्वाचन आयोगले भने यस्ता उजुरीहरूका विषयमा सूक्ष्म अनुगमन भइरहेको दाबी गर्दै आएको छ।

प्रतिक्रिया