राष्ट्रियसभा अधिवेशन अविलम्ब बोलाउन कांग्रेसको माग

nepaltext.com

काठमाडौँ — नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन अविलम्ब आह्वान गर्नुपर्ने माग राख्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेटवार्ता गरेको छ। नेपाली कांग्रेस राष्ट्रियसभाका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले अध्यक्ष दाहाललाई भेटेर कांग्रेस संसदीय दलले यस विषयमा गरेको निर्णयबारे औपचारिक जानकारी गराउँदै अधिवेशन तत्काल बोलाउन पहल गर्न अनुरोध गरेको हो। कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर रूपमा लिँदै प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन गरिएको अवस्थामा संघीय संसद अन्तर्गत राष्ट्रिय सभा मात्र क्रियाशील रहेको र यही सभामार्फत जनताका आवाज उठाउनुपर्ने आवश्यकता बढेको ठहर गरेको छ।

सोही सन्दर्भमा गत पौष १० गते बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा प्रतिनिधिसभा विघटन भएपछि राष्ट्रिय सभाको बैठक बस्नैपर्ने निष्कर्ष निकाल्दै सम्माननीय अध्यक्षमार्फत सम्बन्धित निकायसँग तत्काल अधिवेशन आह्वान गर्न माग गर्ने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयनका लागि कांग्रेस नेताहरू अध्यक्ष दाहालसँग प्रत्यक्ष भेटमा पुगेका हुन्।

भेटवार्तामा राष्ट्रियसभा सदस्यहरू कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायतको सहभागिता रहेको थियो। कांग्रेसले राष्ट्रिय सभालाई लोकतान्त्रिक बहस र संवैधानिक जिम्मेवारी निर्वाह गर्ने एकमात्र मञ्चका रूपमा सक्रिय बनाउन अधिवेशन तत्काल आवश्यक रहेको धारणा दोहोर्याएको छ।

प्रतिक्रिया