काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारी अन्तर्गत अन्तिम अभ्यास खेलमा नेपालले क्यानडामाथि प्रभावशाली जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गर्दै विश्वकपअघि आत्मविश्वास उच्च बनाएको हो। १६२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। नेपालको जितमा आसिफ शेखले उत्कृष्ट अर्धशतकीय इनिङ खेले। उनले २९ बलमा ६ चौका र ३ छक्कासहित ५८ रन बनाएपछि रिटायर्ड आउट भए। उनलाई सन्दीप जोराले मजबुत साथ दिँदै ३० बलमा ४ चौका र १ छक्काको मद्दतमा ४४ रन जोडे भने गुलशन झा ३१ रनमा अविजित रहे। बलिङतर्फ क्यानडाका जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले समान एक–एक विकेट लिए।
यसअघि चेन्नईस्थित एमए चिदम्बरम मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ४१ रन जोडे भने श्रेयस मोव्वाले अविजित ३८ रनको योगदान दिए। विशेषगरी १८औँ ओभरमा मोव्वाले दुई छक्का र एक चौका प्रहार गर्दै क्यानडाको स्कोर उकासेका थिए। कन्वरपाल ताथगुरले २५ रन बनाए भने जास्करन सिंहले ११ बलमा तीन छक्कासहित २१ रन जोडेर आक्रामक इनिङ खेले। निकोलस किर्तोनले १० रन जोडे। नेपालका बलरहरूमा सन्दीप लामिछानेले चार ओभरमा १४ रन खर्चेर दुई विकेट लिए भने कुशल भुर्तेलले तीन ओभरमा २६ रन खर्चेर दुई विकेट हात पारे। सोमपाल कामी र नन्दन यादवले पनि समान एक–एक विकेट लिए।
यससँगै नेपालले अभ्यास खेलहरूमा निरन्तरता कायम गरेको छ। यसअघि नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई सात विकेटले पराजित गरेको थियो। नेपाल आईसीसी टी–२० विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई–दुई पटकका विश्वविजेता वेस्ट इन्डिज र इङ्ल्यान्डसहित स्कटल्यान्ड र इटाली पनि छन्। नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डविरुद्ध खेल्दै विश्वकप यात्रा औपचारिक रूपमा सुरु गर्नेछ।