दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न राप्रपाको माग

nepaltext.com

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति जारी गर्दै फरक विचार र मान्यतालाई निरुत्साहित तुल्याउने तथा दबाउने नियतले प्रसाईँलाई पटक–पटक पक्राउ गरिएको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध समेत गर्न पाउने संविधान प्रदत्त अधिकारको कुण्ठित समेत गरेको छ। प्रसाईँलाई बिना सर्त अविलम्ब रिहा गर्न राप्रपा सरकारसँग माग गर्दछ।’ राप्रपाले प्रसाईँको पक्राउ नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारविरुद्धको कार्य भएको दाबी गर्दै तत्काल रिहाइको माग दोहोर्‍याएको छ।

प्रतिक्रिया