काठमाडौंमा निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयारी पूरा भएको जानकारी दिएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार माघको पहिलो हप्ताभित्र सबै मतदानस्थलमा मतपत्र पुर्याइसक्ने तयारी गरिएको छ। माघ ९ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु हुने छ। माघभित्रै प्रत्यक्षतर्फको मतपत्र छपाई पूरा गरी फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा वितरण गर्ने योजना आयोगको छ।
समानुपातिकतर्फका मतपत्रमध्ये डेड करोड मतपत्र छपाई सकिएको छ भने बाँकी ५० लाख मतपत्र छपाईको अन्तिम चरणमा पुगेको छ। निर्वाचनका लागि आवश्यक ५१ मध्ये ३७ वटा सामग्री सम्बन्धित जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको छ भने बाँकी १४ वटा सामग्री माघको तेस्रो हप्ताभित्र प्राप्त गरी खण्डखण्ड गरेर ढुवानी गरिने जानकारी आयोगले दिएको छ। आयोगले गलत सूचना नियमनमा पनि निरन्तर काम गर्दै आएको छ र सम्बन्धित नियमनकारी निकायसँग सहकार्य गरेर कारवाहीको दायरा बढाउने प्रक्रिया अघि बढाइरहेको छ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको नामावली प्रकाशन गरेपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिनेछ भने त्यही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। आयोगका अनुसार हालसम्म प्रतिनिधिसभा निर्वाचनका लागि जम्मा ३,४८७ उम्मेदवारी दर्ता भइसकेको छ।