२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आजका लागि तय गरिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरेका छन्। पार्टीभित्र विशेष महाधिवेशनको पक्ष र विपक्षमा नेता–कार्यकर्ता स्पष्ट रूपमा विभाजित हुँदै विवाद उत्कर्षमा पुगेका बेला खड्काले पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने तयारी गरेका थिए। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन हुने जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसअघि मिडियालाई दिएका थिए। तर सोही मुख्यसचिव पौडेलले पुनः अर्को सूचना जारी गर्दै पत्रकार सम्मेलन स्थगित गरिएको जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा इतर समूहका नेता डा. शेखर कोइरालाको समेत उपस्थिति रहने प्रचार भइरहेका बेला एकाएक कार्यक्रम स्थगित गरिनुले पार्टीभित्रको राजनीतिक अन्योल र असमञ्जस झन् बढाएको छ। पत्रकार सम्मेलन किन स्थगित गरियो भन्ने विषयमा पार्टी नेतृत्वबाट हालसम्म स्पष्ट कारण सार्वजनिक गरिएको छैन। यसअघि बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो। यही निर्णयको पृष्ठभूमिमा तय गरिएको पत्रकार सम्मेलन स्थगित हुनुले कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष र नेतृत्व तहको रणनीतिक द्विविधालाई थप उजागर गरेको छ।