काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी महाधिवेशनलाई लिएर भित्रिएको विवाद समाधान गर्न सक्रिय भएका छन्। सिंगापुरमा १८ दिन उपचार गरेर शुक्रबार राति स्वदेश फर्किएका देउवाले शनिबारदेखि नै नेतासँगको भेटघाटमार्फत विवाद मिलाउने प्रयासलाई तीव्र बनाएका हुन्। उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको भएकाले देउवाले औपचारिक प्रक्रियाबाट होइन, अनौपचारिक रुपमा समन्वय साधेर विवाद समाधानमा जुटेको एक नेताले जानकारी दिए।
शनिबार बिहान कार्यवाहक सभापति खड्काले एक महिना लामो केन्द्रीय समिति बैठकमा उठेका विषय र महाधिवेशनसम्बन्धी विवादबारे देउवालाई विस्तृत जानकारी गराएका थिए। त्यसपछि देउवाले पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायत नेताहरूसँग छलफल गर्दै, सकभर सहमति जुटाएर अघि बढ्न खड्कालाई सुझाव दिएको स्रोतको भनाइ छ। भेट भएका नेताहरूलाइ पनि ‘मिलेर अघि बढ्ने वातावरण बनाउने’ निर्देशन दिएको स्रोतले बतायो। देउवाले आइतबार संस्थापन पक्षका सात पूर्वपदाधिकारीसँग भेट्ने तयारीसमेत गरेको छन्। ती पूर्वपदाधिकारीमा विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र पार्टी प्रवक्ता डा. महत रहेका छन्। उनीहरू सबैले पार्टीको १५औँ महाधिवेशन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्।
यता डा. शेखर कोइराला नेतृत्वको इतर समूह तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वको समूह भने निर्वाचनअघि नै महाधिवेशन हुनुपर्ने अडानमा रहेको छ। यही मतभेदकै कारण असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक निष्कर्षविहीन बनेको छ।
सात पूर्वपदाधिकारीमध्येका एक नेताले देउवासँग आइतबार भेट्ने सहमति भए पनि ‘कुन बेला भेट्ने भन्ने खबर आइपुगेको छैन’ भन्दै “भेट्ने कुरा हो । कतिबेला भेट्ने भन्ने खबर आएको छैन,” भनेर रातोपाटीसँग स्पष्ट पारे।
देउवाको मिलेर अघि बढ्ने सुझावपछि कार्यवाहक सभापति खड्काले शनिबार ललितपुरस्थित हिमालय होटलमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, पूर्वपदाधिकारी कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक, उपसभापति धनराज गुरुङसँग छलफल गरेका थिए। तर सहभागी एक नेताका अनुसार कुरा नमिलेपछि विवाद भने जहाँको त्यहीँ रह्यो।