भक्तपुरमा 'प्रथम बागमती प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराँते' सुरु: खेलकुद मन्त्री उर्मिला नेपालद्वारा उद्घाटन

nepaltext.com

भक्तपुर, ५ वैशाख । बागमती प्रदेशमा खेलकुदको विकास र कराँते खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ भक्तपुरमा 'प्रथम बागमती प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता–२०८३' शनिबारदेखि औपचारिक रूपमा सुरु भएको छ।

चाँगुनारायण नगरपालिका वडा नं. ८, मिसयाटारमा आयोजित एक भव्य समारोहका बीच बागमती प्रदेशका खेलकुद मन्त्री उर्मिला नेपालले प्रतियोगिताको उद्घाटन गर्नुभयो। उद्घाटन मन्तव्य राख्दै मन्त्री नेपालले खेलकुदले युवाहरूमा अनुशासन र राष्ट्रियताको भावना जागृत गराउने बताउँदै प्रदेश सरकार खेल क्षेत्रको प्रवर्द्धनका लागि सदैव तत्पर रहेको उल्लेख गर्नुभयो। महासंघका अध्यक्ष अस्मिन सिटौलाका अनुसार, प्रतियोगिताको पहिलो दिन खेलाडीहरूको उत्साहजनक उपस्थिति रहेको छ। उहाँले भन्नुभयो, "यो प्रतियोगिताले प्रदेश स्तरमा लुकेर रहेका प्रतिभाहरूलाई पहिचान गरी राष्ट्रिय स्तरसम्म पुर्‍याउन एउटा बलियो प्लेटफर्म प्रदान गर्नेछ।"

प्रतियोगितामा विभिन्न तौल र उमेर समूहमा प्रतिस्पर्धा भइरहेको छ। कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षकहरू र अनुभवी निर्णायकहरूको सहभागिता रहेको छ, जसले खेललाई निष्पक्ष र मर्यादित बनाउन भूमिका खेलिरहेका छन्। भोलि वैशाख ६ गते फाइनल चरणका खेलहरू हुने र समापन समारोहका साथ विजेताहरूलाई पुरस्कृत गरिने छ।

प्रतिक्रिया