राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै
nepaltext
५ भदौ २०८३, शुक्रबार
काठमाडौं– नेपाल राष्ट्र बैंकले वित्तीय बजारबाट ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत रकम उठाउन बोलकबोल आह्वान गरेको हो।
राष्ट्र बैंकका अनुसार बोलकबोल आज दिउँसो ३ बजेसम्म खुला रहनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आजै अर्थात् २०८३ भदौ ५ गते हुनेछ। यसको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ।
बोलकबोल प्रक्रिया पूर्ण रूपमा अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
योग्य संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ८५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल गरिएको रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ।
सहभागी संस्थाले जम्मा गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदरसमेत उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलवपछि बढीमा चार अंकसम्म राख्न सकिनेछ।
रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः बढी ब्याजदर प्रस्ताव गर्ने बोलकर्तालाई रकम बाँडफाँड गरिनेछ। समान ब्याजदरमा परेको बोलपत्रको कुल रकम निष्कासन सीमाभन्दा बढी भएमा प्रो–राटा आधारमा बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार आह्वान गरिएको रकममध्ये सम्पूर्ण वा आंशिक बोलपत्र स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार मौद्रिक व्यवस्थापन विभाग वा खुला बजार कारोबार सञ्चालन समितिमा रहनेछ।