टी–२० विश्वकपमा इटलीविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

nepaltext.com

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपमा नेपालले आज इटलीविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ। मुम्बईस्थित वानखेडे स्टेडियममा इटलीका कप्तान ह्यारी मानेन्टीले टस जितेर फिल्डिङको निर्णय लिँदा नेपालले ब्याटिङको जिम्मेवारी सम्हाल्न लागेको हो। यो टी–२० अन्तर्राष्ट्रियमा नेपाल र इटलीको पहिलो भिडन्त हो भने, एकदिवसीयमा दुवै टोलीबीच तीन खेल भइसकेका छन् र ती सबै खेल नेपालले जितेको थियो।

समूह ‘सी’ मा रहेको दुवै टोली पहिलो जितको खोजीमा छन्। इटलीले विश्वकपको डेब्यु खेलमा स्कटल्यान्डसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो भने, नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले हार व्यहोरेको थियो।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ। इंग्ल्यान्डविरुद्ध खेलेका स्पिनर शेर मल्लको स्थानमा ललितनारायण राजवंशीले मौका पाएका छन्। आजको खेलमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सनकुमार झा, नन्दन यादव, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी मैदानमा रहनेछन्।

प्रतिक्रिया