संविधानको रक्षा र राष्ट्रिय एकताका लागि संविधान पक्षधर शक्तिहरू एकजुट हुनुपर्छ : ओली

nepaltext

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न संविधान पक्षधर सबै शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्दै अध्यक्ष ओलीले मुलुकको रक्षा, संविधानको संरक्षण र राष्ट्रिय एकतालाई मजबुत बनाउन संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका हुन् ।

उनले लोकतान्त्रिक, वामपन्थी, देशभक्तिपूर्ण तथा विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

संविधान जारी भएलगत्तै मुलुकले सामना गर्नुपरेको नाकाबन्दीजस्तो कठिन परिस्थितिको स्मरण गर्दै ओलीले त्यसले संविधानको रक्षा र राष्ट्रिय एकताका लागि थप प्रेरणा दिएको उल्लेख गरेका छन् ।

अध्यक्ष ओलीले संविधान निर्माणका कठिन घडीहरू पार गरेपछि आफ्नो पार्टी नेतृत्वको सरकारले छोटो समयमै आवश्यक कानुन निर्माण र संरचनात्मक विकासका काम अघि बढाएर संविधान कार्यान्वयनको चरणमा प्रवेश गराएको दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया