टि–२० विश्वकप: क्यानडाका १९ वर्षीय युवराज ऐतिहासिक शतक छायामा, न्युजिल्यान्ड सुपर-८ मा प्रवेश

nepaltext.com

काठमाडौँ । टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को रोमाञ्चक खेलमा क्यानडाका १९ वर्षीय युवा ब्याटर युवराज सिंह सामराले ऐतिहासिक शतक प्रहार गरेका छन्। तर, सामराको सानदार इनिङ्सका बाबजुद क्यानडा न्युजिल्यान्डसँग पराजित हुँदै विश्वकपको अघिल्लो चरणको दौडबाट बाहिरिएको छ।

न्युजिल्यान्डविरुद्धको खेलमा ११० रन जोड्दै सामरा पुरुष टी-२० विश्वकपमा शतक प्रहार गर्ने पहिलो एसोसिएट राष्ट्रका खेलाडी बनेका छन्। भारतीय क्रिकेट लिजेन्ड युवराज सिंहको नामबाट प्रेरित १९ वर्षीय यी युवाले न्युजिल्यान्डका विश्वस्तरीय बलरहरूलाई मैदानको चारैतिर प्रहार गर्दै क्रिकेट जगतमा सनसनी मच्चाएका हुन्।

युवराजको ११० रनको मद्दतले क्यानडाले प्रस्तुत गरेको १७४ रनको लक्ष्य न्युजिल्यान्डले मात्र १५.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले आक्रामक ब्याटिङ गर्दै ३६ बलमा अविजित ७६ रन जोडे। यो जितसँगै न्युजिल्यान्ड समूह ‘डी’ बाट सुपर-८ मा पुग्ने दोस्रो टोली बनेको छ। यसअघि नै दक्षिण अफ्रिकाले यो समूहबाट आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

आजको खेलको नतिजासँगै समूह ‘डी’ का तीन टोलीहरू क्यानडा, अफगानिस्तान र युएई आधिकारिक रूपमा विश्वकपबाट बाहिरिएका छन्।

पराजित भए पनि युवराज सामराको प्रदर्शनलाई विश्वकप इतिहासकै उत्कृष्ट मध्येको एक मानिएको छ। यसअघि बहामासविरुद्ध मात्र १५ बलमा अर्धशतक प्रहार गरेर चर्चामा आएका सामराको परिवारको क्रिकेटसँग गहिरो सम्बन्ध छ। मुम्बई इन्डियन्सबाट आइपिएल खेल्ने सपना बुनेका सामराले यो शतक मार्फत विश्व क्रिकेटको ध्यान आफूतिर खिच्न सफल भएका छन्।

प्रतिक्रिया