काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले अत्यन्त प्रतिकूल अवस्थामा पनि महाधिवेशन सम्पन्न गरेर आफूलाई प्रमाणित गरेको भन्दै कांग्रेसले त्यसबाट सिक्नुपर्ने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसजत्तिकै ठूलो संगठनात्मक सञ्जाल भएको एमालेले व्यवस्थित ढंगले महाधिवेशन सम्पन्न गर्दा कांग्रेसले भने महाधिवेशन नगरी जनतामा जान सक्ने अवस्था नरहेको स्पष्ट पारे ।
महामन्त्री थापाले तोकिएको मितिमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्ने विकल्पमा पनि पार्टी जानुपर्ने धारणा राखे । जुनसुकै मूल्य चुकाएर भए पनि महाधिवेशन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै उनले महाधिवेशन नगरी कांग्रेस चुनावमा नजाने प्रष्ट पारे । आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने र जित्ने दाबी गर्दै थापाले पहिलो चरणमै जित सुनिश्चित गर्ने गरी देशव्यापी अभियानमा जुट्ने समेत बताए ।