फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल

nepaltext

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको प्रमुख चुनौती बनेको फापरखेत पहिरोको विकल्पमा मोटरेबल पुल निर्माण हुने भएको छ।

फापरखेतको पहिरो छल्न मङ्गला गाउँपालिका–३ पखेर र वडा नं. २ सिमलचौर जोड्ने गरी म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माण गर्न गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा रु. २ करोड बजेट विनियोजन गरेको छ। बजेट विनियोजनसँगै पुल निर्माणको प्रक्रिया अघि बढाइएको हो।

यसअघि संघीय सरकारले बेलिब्रिज उपलब्ध गराउने तथा प्रदेश सरकारले त्यसको जडान र पहुँचमार्ग निर्माण गर्ने समझदारी भएको थियो। तर जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण उक्त योजना कार्यान्वयन हुन सकेन। प्रदेश सरकारले छुट्याएको रु. १ करोड बजेटसमेत खर्च हुन नसकेको जनाइएको छ।

बेनी–दरवाङ सडकमा सवारीसाधनको चाप धेरै हुने भएकाले सो स्थानमा बेलिब्रिज निर्माण गर्दा जोखिम हुने प्राविधिक प्रतिवेदन आएको थियो। त्यसपछि प्रदेश सरकारले रु. ७ करोड ५० लाखको स्रोत सुनिश्चित गरे पनि हालसम्म ठेक्का आह्वान हुन सकेको छैन।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डा. महेन्द्र बानियाँका अनुसार अब ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट पक्की मोटरेबल पुल निर्माण गर्ने तयारी गरिएको छ। यस विधिमा एउटै कम्पनी वा ठेकेदारले पुलको डिजाइनदेखि निर्माणसम्मको काम गर्नेछ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमामा पर्ने फापरखेतमा सडकको तल म्याग्दी नदी र माथिल्लो भागमा ठूलो पहिरो रहेको छ। विसं २०६० अघि सडकको ट्र्याक खुलेदेखि नै हरेक वर्षायाममा वर्षा हुनासाथ पहिरो खस्ने गरेको छ। पहिरोका कारण करिब २४ किलोमिटर लामो बेनी–दरवाङ सडकमा नियमित यातायात सेवा प्रभावित हुँदै आएको छ।

साँघुरो सडक र निरन्तर खसिरहने पहिरोका कारण दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ। पछिल्लो दुई महिनामै दुई वटा मालवाहक ट्रक फापरखेतबाट म्याग्दी नदीमा खसेर दुर्घटना भएका छन्।

बेनी–दरवाङ सडक मङ्गला, मालिका र धौलागिरि गाउँपालिकाका बासिन्दाका लागि मुख्य यातायात मार्ग हो। बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि यही सडक प्रयोग गर्दै आएका छन्।

‘घुमाउने’ नामले समेत चिनिने फापरखेत पहिरोका कारण स्थानीयलाई दैनिक आवतजावतदेखि बिरामीलाई अस्पताल लैजान, दूध, तरकारी तथा फलफूल बजार पुर्‍याउन र दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदै आएको छ। सडकमा गुडिरहेका सवारीसाधनमाथि पहिरो खस्दा यात्रु घाइते हुने तथा सवारीसाधनमा क्षति पुग्ने घटना पनि हुँदै आएका छन्।

पहिरोका कारण म्याग्दी नदीमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना, डाँडाखेत–राहुघाट सबस्टेसन तथा प्रसारण लाइनसहित सडक, भवन, खानेपानी र सिँचाइजस्ता विकास आयोजनासमेत प्रभावित भएका छन्।

तत्कालीन जिल्ला विकास समितिले सडकको तल पक्की पर्खाल निर्माण गरी म्याग्दी नदीको कटान रोक्ने प्रयास गरे पनि सडकको माथिल्लो भागमा रहेको पहिरो नियन्त्रणका प्रयास भने सफल हुन सकेका छैनन्। अहिले पूर्वाधार विकास कार्यालयले सडकमा खसेको पहिरो पन्छाउँदै यातायात सञ्चालनको व्यवस्था मिलाउँदै आएको छ।

प्रतिक्रिया