काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवार बनेका भट्टराईले सामाजिक सञ्जालमार्फत फेसबुक लाइभमा आएर आफूले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको सार्वजनिक गरेका हुन् । उनले गोरखा–२ का जनता तथा नयाँ–पुराना सबै राजनीतिक दलका नेताहरूको आग्रह र सुझावपछि यो निर्णयमा पुगेको बताए । संसद्मा नरहे पनि जनताको आकांक्षा र अपेक्षाअनुसार राष्ट्र र समाजका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले राजनीतिक यात्रालाई अर्को ढंगले अघि बढाउने संकेत गरे । गोरखा–२ को चुनावी मैदानमा अब नेकपा एमालेबाट चक्रे मिलन, नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट महामन्त्री कवीन्द्र बुर्लाकोटीबीच प्रतिस्पर्धा हुने भएको छ ।
१० माघ २०८२, शुक्रबार ०१:३४ मा प्रकाशित