९ माघ, काठमाडौं । देशभरका निर्वाचन क्षेत्रमा ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसपटक कुल ३ हजार ४८७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए, जसमध्ये ४९ जनाले औपचारिक रूपमा उम्मेदवारी फिर्ता लिएका हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘देशभरबाट जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा प्राप्त भएको छ।’
यसैगरी, उम्मेदवारहरूविरुद्ध ५ वटा दाबी–विरोध दर्ता भएकोमा एक जनाको उम्मेदवारी खारेज भएको र बाँकी चार जनाको उम्मेदवारी यथावत् कायम रहेको प्रवक्ता भट्टराईले जानकारी दिए । उम्मेदवारी फिर्ता र दाबी–विरोधको टुंगो लागेसँगै अब चुनावी प्रतिस्पर्धाको अन्तिम समीकरण स्पष्ट हुँदै गएको छ ।
१० माघ २०८२, शुक्रबार ०३:२९ मा प्रकाशित