“मधेश हाम्रो आमा हो, यसको सेवा गर्नु हाम्रो कर्तव्य” – गगन थापा

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विगतमा पार्टीबाट भएका गल्ती र कमजोरी सच्याउने दृढ सङ्कल्पका साथ आफू मधेश आएको बताएका छन्। आज सर्लाही–४ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेशलाई नेपाली कांग्रेसको जन्मभूमि भएको उल्लेख गर्दै आगामी पाँच वर्षको संसद्को समय देशले खेर फाल्न नहुने धारणा राखे। उनका अनुसार अबको समय नेपालको आर्थिक प्रगतिका लागि, किसानको जीवनस्तर बदल्नका लागि, बेरोजगार युवालाई रोजगारी दिनका लागि, विद्यालय र स्वास्थ्य चौकीको अवस्था सुधार्नका लागि उपयोग हुनुपर्छ र यो जिम्मेवारी कांग्रेसले बहन गर्नेछ। त्यसका लागि सबैभन्दा ठूलो शक्ति मधेशबाट प्राप्त गर्न चाहेको उल्लेख गर्दै उनले मधेशले नै कांग्रेसलाई जन्म दिएको, हुर्काएको, जोगाएको र बलियो बनाएको बताउँदै यही माटोका कारण पार्टी आजसम्म टिकेको जिकिर गरे।

थापाले मधेशले सधैँ कांग्रेसलाई न्याय गरे पनि पछिल्ला वर्षहरूमा कांग्रेसबाट मधेशप्रति गर्नुपर्ने न्यायमा केही कमी कमजोरी भएको स्वीकार गरे। मधेशको सम्मान, प्रतिनिधित्व र अधिकारका सवालमा नयाँ तथा मधेश केन्द्रित दलहरू उदाएको सन्दर्भ उल्लेख गर्दै उनले कसैमाथि आरोप नलगाउने स्पष्ट पारे। तर मधेशलाई कांग्रेसको जननी र आमासरह मानेर आफूहरू जेठो सन्तान भएको भन्दै यसको सेवा गर्नु आफ्नो कर्तव्य भएको बताए। मधेशका माग पूरा गर्ने जिम्मेवारी लिँदै यसपटक सर्लाहीका चारै क्षेत्र मात्र होइन, मधेशका ३२ वटै निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई साथ, समर्थन र सहयोग दिन आग्रह गरे। यही समर्थनको बलमा आगामी पाँच वर्ष कांग्रेसले सिङ्गो देश र विशेषगरी मधेशको सेवा गर्ने दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यो सन्देश घरघरमा पुर्‍याउन कार्यकर्तालाई आग्रह गरे।

प्रतिक्रिया