काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पाँच पटकका प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मतदान समेत नगर्ने भएका छन्। विशेष महाधिवेशनमार्फत नेतृत्व गुमाएपछि र निर्वाचन आयोग एवं सर्वोच्च अदालतबाट समेत कानुनी उपचार नपाएपछि देउवा यसपटक निर्वाचनका सबै प्रक्रियाबाट बाहिर देखिएका हुन्।
सभापति गगन थापाले टिकट नदिएपछि देउवा पहिलोपटक चुनावी मैदानभन्दा बाहिर रहेका छन्। पार्टीका वर्तमान पदाधिकारीहरूले उनलाई चुनावी अभियानमा सामेल गराउन र रुख चिह्नमा मत माग्ने अपिल सार्वजनिक गरिदिन विभिन्न माध्यमबाट आग्रह गरे पनि देउवा यसका लागि तयार भएका छैनन्। यद्यपि, प्रवक्ता देवराज चालिसेले उनलाई चुनावी अभियानमा जोड्ने प्रयास भइरहेको बताएका छन्। तर, देउवाको सचिवालयले भने कसैसँग भेटघाट नभएको र प्रचारमा जाने कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ।
सचिवालय स्रोतले नेतृत्वप्रति आक्रोश व्यक्त गर्दै भन्यो– “बदलियो कांग्रेस, बदल्छौं देश भन्ने नेताहरुले शेरबहादुरको अनुहार देखाएर चुनाव गयौं भने हारिन्छ भनेर सेटिङ मिलाएर जबर्जस्ती पार्टी कब्जा गरेको होइन ? अहिले आएर उहाँहरुलाई किन देउवा चाहियो ? देउवाको अपिल वा देउवा अभियानमा हिँड्दा कांग्रेसको भोट घट्यो भन्ने आरोप भोलि चुनावपछि उहाँहरुले नै लगाउने सम्भावना भएकाले उहाँ चुपचाप सबै अत्याचार सहेर बस्नुभएको छ ।”
विगत सातवटा निर्वाचनमा डडेलधुराबाट लगातार विजयी हुँदै आएका देउवा यसपटक अन्तिम चुनाव लड्न नपाएपछि घरबाट बाहिर निस्केका छैनन्। डडेलधुरामा उनका निकट मानिने नैनसिंह महरले टिकट पाएका छन् र उनले देउवाको तस्बिर राखेरै प्रचार गरिरहेका छन्। महर र जिल्ला सभापति भीम साउदले देउवालाई एकपटक जिल्ला लैजान गरेको प्रयास हालसम्म असफल भएको छ।
स्वास्थ्य र सुरक्षाको कारण देखाउँदै देउवा मतदानका लागि डडेलधुरा नजाने लगभग निश्चित भएको निकट स्रोतको दाबी छ। फागुन २१ को चुनावपछि पार्टीभित्र कानुनी र राजनीतिक दुवै मोर्चाबाट निर्णायक लडाइँ सुरु गर्ने रणनीतिका साथ साविक संस्थापन पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।