हामी प्रतिज्ञा लिएर आएका छौँ, तपाईं प्रश्न लिएर आउनुस्: गगन थापा

nepaltext.com

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राजनीतिक दलहरू जनताका प्रश्नप्रति जवाफदेही हुनुपर्ने बताएका छन्। जनकपुरमा आयोजित एक विशेष समारोहका बीच पार्टीको चुनावी ‘प्रतिज्ञापत्र’ सार्वजनिक गर्दै थापाले कांग्रेस प्रश्नबाट नभाग्ने बरु त्यसको सामना गर्न तयार रहेको स्पष्ट पारेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘नेपाली कांग्रेस प्रतिज्ञा लिएर आएको छ, तपाईँ प्रश्न लिएर आउनुस्। राजनीतिक दलहरू जबाफदेही हुनुपर्छ। प्रश्नबाट भाग्ने होइन, प्रश्नको सामना गर्न सक्नु पर्छ।’ उनले लोकतन्त्रमा नागरिकले आफ्ना प्रतिनिधिलाई प्रश्न सोध्न पाउनु नैसर्गिक अधिकार भएको र त्यसको उत्तर दिनु नेतृत्वको दायित्व भएको बताए।

जनताका जिज्ञासा र प्रश्नहरूको प्रत्यक्ष उत्तर दिनका लागि भोलि बिहीबार काठमाडौंको राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए। उक्त कार्यक्रममा सहभागी हुन र प्रश्न सोध्न उनले आम नागरिकलाई आह्वान गरेका छन्।

उनले भने, ‘प्रश्नहरूका साथ भोलिको कार्यक्रममा उपस्थित भइदिनु हुन् सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। काठमाडौँ वा नेपाल बाहिर रहनु भएका साथीहरूले https://askgagan.com वा इमेल gaganthapasecretariat@gmail.com मार्फत आफ्ना प्रश्नहरू राख्न सक्नु हुनेछ।’

कांग्रेसले यसपटक प्रविधिमैत्री बन्दै अनलाइनमार्फत पनि प्रश्न संकलन गर्ने र त्यसको सम्बोधन गर्ने नीति लिएको छ। जनकपुरबाट सुरु भएको यो प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रमसँगै कांग्रेसले आफ्नो चुनावी अभियानलाई देशव्यापी रूपमा तीव्र पार्ने जनाएको छ।

प्रतिक्रिया