अमेरिका, भर्जिनिया । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा एक नेपाली परिवारभित्रै अत्यन्तै बीभत्स र हृदयविदारक हत्याकाण्ड घटेको छ। सोमबार बिहान पर्सिमोन ड्राइभस्थित एक अपार्टमेन्टमा उदयपुर बेलका नगरपालिका घर भएका ५० वर्षीय छत्रबहादुर थापाले आफ्नै श्रीमती र छोरीको हत्या गरेका छन्। घटनामा ज्वाइँलाई समेत आक्रमण गरिरहेको अवस्थामा प्रहरीले चलाएको गोली लागेर छत्रबहादुरको पनि मृत्यु भएको छ।
प्रहरीका अनुसार, छत्रबहादुरले १० इन्च लामो धारिलो हतियार (छुरी) प्रहार गरी ५१ वर्षीया पत्नी बिन्दा थापा र ३१ वर्षीया छोरी ममता थापाको हत्या गरेका हुन्। सोही क्रममा उनले ३५ वर्षीय ज्वाइँ सन्तोष कुमार बस्नेतमाथि पनि प्राणघातक आक्रमण गरेका थिए। सन्तोषले नै घटनाबारे प्रहरीलाई खबर गर्न सफल भएका थिए।
खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरीले छत्रबहादुरलाई ज्वाइँ सन्तोषमाथि आक्रमण गरिरहेकै अवस्थामा फेला पारेको थियो। प्रहरीले पटक-पटक हतियार फाल्न र आत्मसमर्पण गर्न आदेश दिए पनि उनले अस्वीकार गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनुपरेको थियो। प्रहरीको गोली लागेर छत्रबहादुरको घटनास्थलमै मृत्यु भयो। घाइते ज्वाइँ सन्तोषको अवस्था हाल गम्भीर रहेको र अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
यस बीभत्स घटनाका बीच परिवारका एक वर्षीय शिशु भने सुरक्षित फेला परेका छन्। फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले यस घटनालाई ‘कल्पनाबाहिरको बीभत्स दृश्य’ भन्दै स्तब्धता व्यक्त गर्नुभएको छ। पारिवारिक पृष्ठभूमि आपराधिक नभएको यो परिवारमा यति ठूलो हिंसा कसरी भयो भन्ने विषयले अमेरिकी प्रहरीलाई समेत अचम्मित तुल्याएको छ।
स्थानीय प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ। यो घटनाले अमेरिकामा रहेका नेपाली समुदायलाई गहिरो शोक र स्तब्ध बनाएको छ।