अर्जुन अपवाद
काठमाडौँ । आधुनिक तथा पश्चिमी सङ्गीतका लागि परिचित काठमाडौँको एक्सओ (XO) क्लबमा शनिबार दिउँसो भने नेपाली मौलिक संस्कृतिको अनुपम झल्को देखियो। नेपाली पोशाकमा सजिएका बालबालिकाले सारङ्गी, मादललगायत परम्परागत बाजा बजाउँदै आगन्तुकलाई मौलिक सङ्गीतको स्वाद चखाएका थिए।
परम्परागत नेपाली सङ्गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले डिलाइट क्लबले आयोजना गरेको सातौँ डिलाइट च्यारिटी कन्सर्टका क्रममा यस्तो सांस्कृतिक प्रस्तुति गरिएको हो।
कार्यक्रममा त्रिनेत्र फाउन्डेशन, बोधिचित्त विकास समाज, सत्प्रयास फाउन्डेशनसहित सात वटा संस्थाका बालबालिकाले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए। यी सबै बालबालिका अभिभावक गुमाएर विभिन्न अनाथालयमा आश्रित रहेका हुन्।
डिलाइट क्लबले सन् २०१७ देखि ‘माया (Maya–It's Love)’ कार्यक्रममार्फत उपत्यका र आसपासका सात अनाथालयमा आश्रित बालबालिकालाई नेपाली मौलिक बाद्यवादनको तालिम प्रदान गर्दै आएको छ। यस अभियानका लागि ताइवानको जुजुमामा संस्थाले आर्थिक सहयोग गर्दै आएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिलाइट क्लब तथा जुजुमामा संस्थाकी संस्थापक जेवेल चियाङले नेपाली मौलिक सङ्गीतप्रति नयाँ पुस्ताको आकर्षण बढाउने उद्देश्यले च्यारिटी कन्सर्ट आयोजना गरिएको बताइन्।
उनले अपाङ्गता भएका तथा अभिभावकविहीन बालबालिकालाई सीपमूलक तालिम उपलब्ध गराउँदा उनीहरूको भविष्य निर्माण र आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्। "यी बालबालिकालाई सीप हस्तान्तरण गर्न सके उनीहरूको जीवनमा सकारात्मक परिवर्तन आउनेछ भन्ने हाम्रो विश्वास छ," उनले भनिन्।