रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकैको लिलौटी भन्ने स्थानमा यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार गाडी साहुसहित पाँच जनाको शव निकालिएको पुष्टि भएको छ। उनका अनुसार हालसम्म तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ। काठमाडौंबाट ओखलढुङ्गातर्फ आउँदै गरेको १९७५ नम्बरको अरनिको यातायातको यात्रुबाहक बस केहीबेर अघि लिलौटी भन्ने स्थानबाट सिधै तामाकोशी नदीमा खसेको हो। दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य भइरहेको छ भने तामाकोशीमा डुबेको बसबाट अन्य यात्रुहरूलाई निकाल्ने प्रयास पनि जारी रहेको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।