मन्थली दुर्घटनापछि सुरक्षा जोखिम देखाउँदै अनिश्चितकालका लागि रोकियो काठमाडौं–मन्थली रुटको ‘क्यू’ बस सेवा

nepaltext.com

काठमाडौं । अरनिको यातायात सेवा प्रा.लि.ले काठमाडौं–खुर्कोट हुँदै रामेछापको मन्थलीसम्म सञ्चालन हुँदै आएका आफ्ना सम्पूर्ण ‘क्यू’ बस सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ। रामेछापको मन्थली नगरपालिका–६ मसानटार क्षेत्रमा भएको दुर्घटनापछि सुरक्षा जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सेवा रोक्ने निर्णय गरेको जनाएको छ।

कम्पनीले आज एक औपचारिक सूचना जारी गर्दै काठमाडौं–खुर्कोट–मन्थली मार्ग प्रयोग गरी सञ्चालन हुँदै आएका सबै ‘क्यू’ बसहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको हो। सूचनामा भनिएको छ, ‘नेपाल अरनिको यातायात सेवा प्रा.लि. अन्तर्गत काठमाण्डौं खुर्कोट हुँदै मन्थलीको बाटो प्रयोग गरि सञ्चालन हुने सम्पूर्ण क्यूका बसहरु सुरक्षा जोखिम (रामेछाप मन्थली न.पा.-६ मसानटार) दुर्घटनाका कारणले अर्को सूचना नआए सम्मको लागि हाललाई क्यूहरु स्थगित गरिएको ब्यहोरा सम्बद्ध सम्पूर्ण ब्यवसायी, मजदुर, कर्मचारीहरुमा जानकारीको लागि आदेशानुसार सूचित गरिन्छ ।’

गत मंगलबार मन्थली क्षेत्रमा भएको बस दुर्घटनामा १२ जनाको ज्यान गएको थियो। सोही घटनापछि सम्भावित जोखिम र यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा अस्थायी रूपमा स्थगित गरिएको कम्पनीले जनाएको छ। आगामी निर्णयबारे थप सूचना जारी गरिने पनि बताइएको छ।

प्रतिक्रिया