काठमाडौँ । काठमाडौँको चप्पल कारखाना अगाडि सडकमै पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमा कुटपिटको भिडियो भाइरल भएपछि सक्रिय भएको प्रहरीले चालक पारस बमलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका एसएसपी नवराज अधिकारीका अनुसार बमलाई पक्राउ गरी अहिले कार्यालयमा राखिएको छ। सार्वजनिक भएको भिडियोमा उनले कारबाट झरेर पैदलयात्रीलाई गालीगलौज गर्दै मुक्का हानेको स्पष्ट देखिन्छ। सोही क्रममा कारमा सवार एक महिलाले समेत ती पैदलयात्रीलाई गाली गरेको भिडियोमा सुनिन्छ।
सडकमा पैदलयात्रीलाई अभद्र व्यवहार र कुटपिट गरेको भिडियोका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले चालकको पहिचान गरी केही घण्टामै नियन्त्रणमा लिन सफल भएको हो। "कानुन हातमा लिएर सडकमा अभद्र व्यवहार गर्नेलाई कडा कारबाही गरिनेछ," प्रहरीले जनाएको छ।
पक्राउ परेका बममाथि सार्वजनिक शान्ति विरुद्धको कसुर वा अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको बुझिएको छ। सडक सुरक्षा र नागरिकको मर्यादामा आँच पुर्याउने यस्ता गतिविधि नियन्त्रण गर्न प्रहरीले कडा कदम चाल्ने प्रतिबद्धता जनाएको छ।