बुटवल । नवलपरासीस्थित एकीकृत समाजवादी पार्टीको सम्पूर्ण जिल्ला कमिटीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने निर्णय गरेको छ। प्रचण्ड नेतृत्वको नेकपामा जाने निर्णय जिल्ला कमिटीको बैठकले सर्वसम्मतरूपमा गरेको जिल्ला अध्यक्ष कुमार आलेले जानकारी दिए।
उनका अनुसार नवलपरासीमा रहेको ५१ सदस्यीय जिल्ला कार्यसमिति एउटै संरचनासहित नेकपामा प्रवेश गर्ने तयारी भइसकेको छ। “समितिको पूर्ण सहमतिसहित अब हामी तारा चिन्ह रहेको नेकपामा समाहित भएका छौं,” उनले रातोपाटीसँग भने।
हाल गठन प्रक्रियामा रहेको नेकपामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव समूहको विभाजित नेकपा, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), नेकपा सत्यवादी र गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चासहितका दलहरू समावेश हुँदै आएका छन्।
बैठकले माधवकुमार नेपालको नेतृत्वमा रहेको एकीकृत समाजवादी र एकताबाट बाहिर रहेका घनश्याम भुसालले अघि सारेका मूल एजेन्डाहरू प्रचण्ड–माधव समूहको विचारसँग मिल्दोजुल्दो रहेको उल्लेख गर्दै, भुसालसहित कम्युनिस्ट विचारधारा मान्ने सबैलाई नेकपाको एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेको अध्यक्ष आलेले बताए।