१९ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अन्तर्गत वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन जना कर्मचारी घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा हुलाक भन्सार शाखाका भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी तथा हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाल रहेका छन्। उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको साथबाट घुस लिएको १० हजार रुपैयाँ र विभिन्न स्रोतबाट संकलित १ लाख ३६ हजार ४२० रुपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद गरिएको छ। त्यस्तै नासु रिजालको साथबाट घुस लिएको २० हजार रुपैयाँ तथा स्रोत नखुलेको रकमसहित कुल २ लाख ६८ हजार २८८ रुपैयाँ फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।