निर्वाचन स्वच्छ र भयरहित हुन्छ, ढुक्क भएर मतदान गर्ने वातावरण बनाउँछौँ : गृहमन्त्री अर्याल

nepaltext.com

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई पूर्ण रूपमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दोलखाको बैतेश्वर गाउँपालिकास्थित विभिन्न मतदान केन्द्रहरूको निरीक्षण तथा अनुगमन गर्ने क्रममा उनले विगतका निर्वाचनमा देखिएका कमजोरीहरूलाई सच्याउँदै यसपटक धाँधलीरहित निर्वाचन सुनिश्चित गरिने बताए। अनुगमनका क्रममा मन्त्री अर्यालले सुरक्षा निकाय र सम्बद्ध अधिकारीहरूलाई आम नागरिकले निर्धक्कसाथ र शान्तिपूर्ण रूपमा मतदान गर्न सक्ने गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशन समेत दिएका छन्।

निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले सामाजिक सञ्जालमा फैलिन सक्ने गलत, मिथ्या र दुष्प्रचारपूर्ण सूचनाहरूबाट सचेत रहन सबैलाई आग्रह गरे। उनले यस्ता भ्रामक खबरहरूबाट प्रभावित नभई आ–आफ्नो क्षेत्रको निर्वाचन तयारीमा जुट्न सम्बन्धित सबै पक्षलाई आह्वान गरे। शुक्रबार बिहान गृहमन्त्री अर्यालसँगै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्चस्तरीय टोलीले मतदान केन्द्रको स्थलगत अनुगमन गर्नुका साथै निर्वाचन सुरक्षाको अवस्थाबारे गम्भीर छलफल गरेको थियो।

अनुगमन टोलीमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजङग केसी, प्रहरी अतिरिक्त महानिरीक्षक गणेश ठाडा मगर, गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले र सह-प्रवक्ता रमा आचार्य लगायतको उपस्थिति थियो। छलफलका क्रममा विसं २०७९ को निर्वाचनका अनुभवहरूलाई समीक्षा गर्दै आगामी सुरक्षा योजनाबारे जानकारी दिइएको थियो। गृह मन्त्रालयका अनुसार मतदान केन्द्रको संवेदनशीलतालाई ध्यानमा राखेर अहिलेदेखि नै विभिन्न नाकाहरूमा सुरक्षा कडाइ गरिएको छ।

सोही अवसरमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई निष्पक्ष बनाउन सबै सरोकारवालाको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए। उनले सम्भावित समस्याहरूको पहिचान गरी निर्वाचन सुरक्षालाई पूर्ण प्रत्याभूति गर्न आग्रह गरे। दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे र प्रमुख निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जिल्लाको वर्तमान सुरक्षा अवस्था र सुरक्षा निकायहरूबीचको समन्वयबारे जानकारी गराएका थिए। बैतेश्वर गाउँपालिकामा कुल ८ मतदानस्थल र २१ मतदान केन्द्र रहेका छन्, जहाँ १८ हजार ४२२ मतदाता रहेका छन्।

प्रतिक्रिया