रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग राख्दै स्थानीयले बुधबार बिहानदेखि सडक अवरुद्ध गरेका छन्। १२ जनाको ज्यान जाने गरी दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र सम्बन्धित यातायात समितिले गम्भीर चासो नदेखाएको आरोप लगाउँदै स्थानीय आन्दोलित भएका हुन्।
स्थानीयले काठमाडौंबाट रामेछापतर्फ गएका सवारीसाधनलाई खुर्कोटमा रोकेका छन् भने मन्थली भित्रिएका सवारीलाई मन्थली आकाशेमा तथा गाउँतर्फबाट छुटेका सवारीसाधनलाई खिम्तीमै रोकेर आवागमन अवरुद्ध गरेका छन्।
स्थानीयले दुर्घटनाको निष्पक्ष छानविन, मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरूको सहज र प्रभावकारी उपचारको माग राखेका छन्। काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको बस मंगलबार तामाकोसी नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो।