काठमाडौं । पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रूप) बाट पीडित थिए। अछाममा रहँदा अचानक बेहोस भएर ढलेपछि उनलाई शुक्रबार काठमाडौं ल्याइएको थियो। ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा चिकित्सकले आज दिउँसो १२ः४५ बजे सिटौलालाई मृत घोषणा गरेका हुन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको छ।
४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी र दुई दाजुभाइ छन्। चलचित्र पत्रकार संघका पूर्वअध्यक्षसमेत रहेका सिटौलाले सयौँ नेपाली चलचित्रहरूको प्रचार–प्रसार (प्रमोशन) मा सक्रिय रूपमा काम गरेका थिए। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा टोलीसँगै अछाम पुगेका थिए। सिटौलाको निधनले पत्रकारिता र चलचित्र क्षेत्रलाई स्तब्ध बनाएको छ।