काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब नागरिकहरूले निर्माण वा विध्वंसमध्ये एउटा बाटो रोज्नुपर्ने बेला आएको बताएका छन्। मतदाताहरूलाई एक भिडिओ सन्देश जारी गर्दै ओलीले मुलुकको भविष्यका लागि स्पष्ट कित्ताकाट गरेर राष्ट्रको पक्षमा उभिन आह्वान गरेका हुन्।
मतदातालाई जिम्मेवार बन्न आग्रह गर्दै उनले भने, “अब स्पष्ट कित्ताकाट गर्ने बेला आएको छ । तपाईं राष्ट्र जोगिनुपर्छ भन्ने पक्षमा कि राष्ट्रको भविष्य जे भए होस् भन्ने पक्षमा ? यतिबेला तपाईँले आफू कुन कित्तामा हो भनेर स्पष्ट पार्नुभएन र त्यसको लागि बोल्नुभएन भने इतिहासले होइन, तपाईं आफैँले आफैँलाई कहिल्यै माफ गर्नु हुने छैन । इतिहासले धिक्कारेको कुरा आफैँले त कसैले देख्दैन तर जिन्दगीको अन्तिम मोडतिर पुग्दा मैले त्यतिबेला बोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला आँखा र कान खोल्नुपर्थ्यो कि पर्दैनथ्यो ? मैले त्यतिबेला हातखुट्टा जुरुक्क उठाउनुपर्थ्यो कि पर्दैनथ्यो ? भनेर आफैँलाई सोध्दा त्यसको जवाफ दिने नैतिक साहस तपाईंसँग बाँकी रहोस् । मैले राष्ट्रको पक्षमा निर्णय गरेँ भन्ने आत्मसन्तुष्टि तपाईंमा रहिरहोस् ।”
आफ्नो नेतृत्वको सरकारलाई हटाउन षड्यन्त्र गरिएको चर्चा गर्दै ओलीले देशको अस्तित्वमाथि नै प्रश्न उठाए। उनले थपे, “आज तपाईंले ठण्डा दिमागले एउटा प्रश्नको जवाफ दिनुपर्नेछ- यो देश हामीले बचाउने कि नबचाउने ? यो सोध्न मिल्ने हुने प्रश्न होइन तर सोध्नैपर्ने भएको छ ।” उनले आफूविरुद्ध फैलाइएका भ्रमहरूको चर्चा गर्दै केही कमजोरी भएको स्वीकार गरे पनि राष्ट्रियतामा कहिल्यै सम्झौता नगरेको स्पष्ट पारे। ओलीले भने, “तर तपाईंलाई यो पनि थाहा छ- मैले यस देशको अखण्डताको सवालमा, यस देशको राष्ट्रियताको सवालमा कसैसँग कहिल्यै सम्झौता गरेको छैन र गर्दिनँ पनि ।”
ओलीले आफू नयाँ पुस्ताको भविष्यका लागि लडिरहेको भन्दै अब 'देश पहिले' भन्ने भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए। उनले भने, “अब तपाईंले पनि देश पहिले भन्ने दिन आएको छ । देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो । देश पहिले भनेको भूमि र जनता पहिले भनेको हो । र देश पहिले भनेको संविधान र नियम पहिले भनेको हो ।”
उनले सार्वजनिक सम्पत्तिको रक्षा र कानुनी शासनको ग्यारेन्टीका लागि राष्ट्रिय स्वाभिमानको पक्षमा उभिनुपर्ने बताए। “देश पहिले भनेको सार्वजनिक सम्पत्ति पहिले भनेको हो । सिंहदरबार, अदालत, संसद्, सडक, सरकारी कार्यालय, प्रहरी चौकी, सुरक्षा निकाय- यी सबै तपाईंको कर र भरोसाले बनेका हुन् । यी जल्दा तपाईंको भरोसा मात्र होइन तपाईँको सपना पनि जल्छ, जलेको छ। आज हामीलाई अब यी कहिल्यै नजल्ने ग्यारेन्टी चाहिएको छ। त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ ।”
आफ्नो माटो र सिमानाको रक्षा नै वास्तविक शक्ति भएको उल्लेख गर्दै उनले सन्देशको अन्त्यमा भने, “त्यसैले आज हामीलाई आफ्नो स्वाभिमान नझुक्ने ग्यारेन्टी चाहिएको छ । त्यस ग्यारेन्टीको लागि आज देश पहिले भन्ने भावना चाहिएको छ ।”