राष्ट्रिय सभा दलको नेताबाट सिटौलालाई हटाएर नयाँ नेता चयन गर्ने तयारीमा कांग्रेस

nepaltext.com

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेतृत्वमा हेरफेर गर्ने तयारी सुरु गरेको छ। हाल उक्त जिम्मेवारी सम्हालिरहेका नेता कृष्णप्रसाद सिटौलालाई हटाएर नयाँ नेता चयन गर्ने गृहकार्यमा पार्टी जुटेको हो।

विशेषगरी कांग्रेसको विधानमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्दै यो परिवर्तन गर्न लागिएको बुझिएको छ। विधान अनुसार ‘प्रतिनिधिसभा संसदीय दलको नेताले राष्ट्रिय सभा दलको नेता चयन गर्न सक्नेछ’ भन्ने प्रावधान रहेको छ। यही प्रावधानलाई आधार मान्दै राष्ट्रिय सभामा दलको नयाँ नेता ल्याउन लागिएको स्रोतले जानकारी दिएको छ।

सोमबार मात्रै नेपाली कांग्रेसको प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे निर्वाचित भएका छन्। विधानको प्रावधान उल्लेख गर्दै स्रोतले भन्यो, ‘कांग्रेसको विधानले नै प्रतिनिधिसभाको दलको नेता चयन भएपछि उसैले राष्ट्रिय सभाको दलको नेता चयन गर्ने अधिकार दिएको छ,’ र ‘सोही व्यवस्थाअनुसार प्रतिनिधिसभाको दलको नेताले नयाँ म्यान्डेटअनुसार राष्ट्रियसभा दलको नेता परिवर्तनको तयारी भएको हो ।’

नवनिर्वाचित दलका नेता आङ्देम्बेले अब चाँडै नै राष्ट्रिय सभाका लागि नयाँ नेताको नाम तय गर्ने बताइएको छ। नयाँ राजनीतिक म्यान्डेट र बदलिँदो परिस्थितिका कारण नेतृत्व परिवर्तन गर्न लागिएको कांग्रेस वृत्तमा चर्चा छ।

प्रतिक्रिया