देशभर मनसुनी प्रभाव, केही स्थानमा चट्याङ्सहित वर्षाको सम्भावना

nepaltext

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ।

महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतः सफा रहेको छ। कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी र मधेश प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि चट्याङ्सहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

आज राति भने देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा चट्याङ्सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा समेत चट्याङ्सहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया