काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको विवरण अनुसार यस अवधिमा खुद नाफा २८.०३ प्रतिशतले घटेर ३३ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १५.३७ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी ७.०९ प्रतिशतले बढेको छ। यस अवधिमा खुद दाबी भुक्तानी ८.१९ प्रतिशत र कुल खर्च ९.०२ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ११ पैसा, प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०८.१९ गुणा छ।
कम्पनीको चुक्ता पूँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। महाविपत्ती कोषमा १ अर्ब ५३ करोड रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ६७ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा १४ करोड ९२ लाख रुपैयाँ सञ्चित रहेको छ।