चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बेपत्ता भएका ७६४ जनामध्ये ६७५ जनालाई सकुशल फेला पारेर परिवारको जिम्मा लगाइएको छ भने ८९ जनाको खोजी अझै जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार बेपत्ता हुनेमध्ये केही व्यक्ति नारायणी नदीमा हामफाल्ने घटनासँग सम्बन्धित हुने गरेका छन्। कतिपय अवस्थामा घटना समयमै प्रहरीलाई जानकारी नपुग्दा उनीहरू हराएको सूचीमा समावेश हुने गरेका छन्। यस्तै, घर फर्किएपछि पनि केही व्यक्तिले प्रहरीलाई जानकारी नदिने, सम्पर्कका लागि उपलब्ध गराइएको फोन नम्बर परिवर्तन हुने वा सम्पर्कविहीन हुने कारणले पनि बेपत्ताको सूची अद्यावधिक गर्न कठिनाइ हुने गरेको उनले बताए।
पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कले बेपत्ता हुने व्यक्तिको सङ्ख्या बढ्दो क्रममा रहेको देखाएको छ। आर्थिक वर्ष २०८०/८१ मा ४८७ जना बेपत्ता भएकामध्ये ४७५ जना फेला परेका थिए भने १२ जनाको खोजी जारी थियो। आर्थिक वर्ष २०८१/८२ मा ५५३ जना बेपत्ता भएकामध्ये ५४० जना फेला परेका थिए भने १३ जनाको खोजी गरिएको थियो।
यता, घरेलु हिंसाका घटनामा भने केही कमी आएको देखिएको छ। गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन दर्ता भएकामध्ये ३०५ वटा मिलापत्रमार्फत टुंगिएका छन्। ७१ वटा मुद्दा अदालतमा दर्ता भएका छन् भने पाँच निवेदनमाथि अझै छलफल भइरहेको प्रहरीको भनाइ छ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा घरेलु हिंसाका ५४२ निवेदन परेका थिए। तीमध्ये ४६९ वटा मिलापत्र भएका थिए भने ७३ वटा अदालत पुगेका थिए। आर्थिक वर्ष २०८०/८१ मा ४९० निवेदन दर्ता भएकामध्ये ४११ वटा मिलापत्र भएका थिए भने ७९ वटा अदालतमा दर्ता भएका थिए।
गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा कुल २ हजार ३०५ वटा ठाडा उजुरी परेका थिए। तीमध्ये १ हजार ८७८ वटा जिल्ला प्रहरी कार्यालयमा प्रत्यक्ष दर्ता भएका थिए भने ४२७ वटा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएका थिए। प्राप्त उजुरीमध्ये २ हजार १०८ वटा फर्छ्योट भइसकेका छन् भने १९७ वटा उजुरीको सुनुवाइ तथा टुंगो लगाउने प्रक्रिया अझै बाँकी रहेको प्रहरीले जनाएको छ।