कास्की । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विशेष महाधिवेशनपछि नेपाली कांग्रेसभित्र कुनै गुट नरहेको र पार्टीको जिम्मेवारी अब युवाको काँधमा गएको बताएका छन्। नेपाली कांग्रेस कास्की–२ को पोखरा–८ सिमलचौरस्थित चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले पार्टीभित्र गुट अन्त्य भएकाले सबै एकताबद्ध भएर आफ्ना उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए। नेपाली कांग्रेस सुशासन, समृद्धि र महँगी नियन्त्रणका अभियानमा निरन्तर लागिरहेको उल्लेख गर्दै उनले युवाका मागलाई सम्बोधन गर्दै कांग्रेस अघि बढ्ने स्पष्ट पारे। शर्माले भने, ‘नेपाली कांग्रेस खुला किताब हो, यहाँ जुनसुकै मानिस पनि स्वतन्त्र रूपमा आफ्ना हरेक गतिविधि गर्नसक्ने वातावरण कांग्रेसमा मात्र छ ।’ यसै अवसरमा कांग्रेसका तर्फबाट कास्की–२ बाट उम्मेदवार बनेका माधवप्रसाद बाँस्तोलाले पार्टीले जेनजीका मागलाई समेटेर अगाडि बढ्ने बताउँदै कांग्रेसको नेतृत्वसमेत युवालाई नै सुम्पिएको उल्लेख गरे। क्षेत्र नम्बर २ का सभापति केशर निर्दोषीले परिवर्तन भएको कांग्रेसप्रति नेपाली जनताको विश्वास अझ बलियो हुने दाबी गरे।