निर्वाचनको मुखमा देउवा दम्पती विदेश भ्रमणमा

nepaltext.com

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढिरहेका बेला नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा दुवै मुलुक बाहिर रहेका छन्। निवर्तमान सभापति देउवा बुधबार राति आफ्नो स्वास्थ्योपचारको नियमित 'फलोअप' का लागि सिङ्गापुर प्रस्थान गरेका छन् भने आरजु विगत ५ दिनदेखि भारत भ्रमणमा छिन्। गत भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा घाइते भएका देउवा यसअघि कात्तिकमा १८ दिन सिङ्गापुरमा उपचार गराएर फर्किएका थिए। उनी निकटका अनुसार यो भ्रमण केवल स्वास्थ्य परीक्षणका लागि मात्रै हो र उनी निर्वाचन अगावै काठमाडौँ फर्कने तालिका रहेको छ।

यता, काठमाडौँबाट ५ दिनअघि भारत प्रस्थान गरेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवा भने विभिन्न शक्तिपीठहरूको दर्शनमा व्यस्त छिन्। भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाआजा गरिरहेको उनको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्रोतका अनुसार उनी अझै आगामी पाँच दिनसम्म भारतमै रहने कार्यक्रम छ। निर्वाचनको समयमा पार्टीका प्रभावशाली नेताहरू काठमाडौँमा नहुनुलाई कतिपयले निर्वाचन छल्न खोजेको रूपमा टिप्पणी गरे पनि उनीहरूले भने यसलाई व्यक्तिगत र स्वास्थ्यगत आवश्यकता बताएका छन्।

पार्टीभित्रको आन्तरिक विवादका कारण पनि यो विदेश भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। गत पुसमा काठमाडौँमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भए पनि देउवा र डा. शेखर कोइराला समूहले त्यसलाई स्वीकार गरेका छैनन्। उक्त महाधिवेशनको वैधानिकतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले देउवा पक्षीय नेताहरू चुनावी प्रचारप्रसारमा सक्रिय देखिएका थिएनन्। यस्तो अवस्थामा देउवा दम्पतीको विदेश भ्रमणले काठमाडौँको राजनीतिक वृत्त र कांग्रेसको चुनावी अभियानमा कस्तो असर पार्छ भन्ने विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन्।

प्रतिक्रिया