चुनावी अभियानका क्रममा बारा पुगे कुलमान घिसिङ

nepaltext.com

सिमरा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ चुनावी अभियानअन्तर्गत बारा पुगेका छन्। सोमबार बिहान बारा पुगेका घिसिङलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको थियो। सोही क्रममा उनले पहिलो पटक सिमरामा आएको उल्लेख गर्दै अब विस्तारै देशभर चुनावी अभियान सुरु गर्ने बताए। उनले भने, ‘अहिले जुन चुनावी अभियान छ, हामीले देशैभर सुरु गरेका छौ । पहिलो पटक म सिमरामा आएको छु । अब विस्तारै देशैभर आफ्नो चुनावी अभियान सुरु गर्नको लागि आएको हो ।’ पार्टीले देशभर १२१ स्थानमा उम्मेदवार उठाएर प्रतिस्पर्धा गरिरहेको जानकारी दिँदै उनले पूर्वदेखि पश्चिमसम्म धेरै सिटमा जित हासिल गर्ने अपेक्षा रहेको बताए। साथै, देश र जनताको मागअनुसार सबै छाडेर सहमतिमा जाने उद्देश्यसहित आफू रास्वपामा गएको भए पनि त्यो सहमति कार्यान्वयन नभएको उनको भनाइ छ। उनले भने, ‘झापा ५ मा हाम्रो पनि उम्मेदवार हुनुहुन्छ । जनताले गर्नुभएको निर्णय मान्न तयार छौं । जेनजी आन्दोलन, देश र जनताको माग अनुसार हामीले सबै छाडेर एउटा सहमतीमा जाउ भन्ने हिसाबले गएका थियौं तर कार्यान्वयन भएन ।’

प्रतिक्रिया