कांग्रेसको एकल बहुमतले मात्रै देशलाई सही दिशा दिन्छ: विमलेन्द्र निधी

nepaltext.com

जनकपुर । नेपाली कांग्रेसका पूर्व उपसभापति एवं धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधीले मुलुकको बिग्रिएको राजनीतिक अवस्थालाई सही बाटोमा ल्याउन कांग्रेसको एकल बहुमत आवश्यक रहेको बताउनुभएको छ। जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अहिले देशमा निर्वाचित संसद् र सरकार नहुँदा लोकतन्त्र र राजनीतिक प्रणाली नै 'फ्याक्चर्ड' भएको टिप्पणी गर्नुभयो। कांग्रेसको नयाँ नेतृत्वले पार्टीमा ऊर्जा भरेको र गगन थापा लगायतका युवा नेताहरूको सक्रियताले जनतामा सकारात्मक सन्देश गएको उल्लेख गर्दै उहाँले यस पटक कांग्रेसले स्पष्ट बहुमत ल्याउने दाबी गर्नुभयो।

नेता निधीले सुशासन र भ्रष्टाचार न्यूनीकरणका लागि आफ्नो मुख्य एजेन्डा 'डिजिटल गभर्नेन्स' रहेको स्पष्ट पार्नुभयो। सरकारी सेवा लिन नागरिकले भोग्नुपरेको सास्ती अन्त्य गर्न तीनै तहका सरकारमा ई-गभर्नेन्स सिस्टम लागू गरिने उहाँको भनाइ छ। नागरिकता र लाइसेन्स जस्ता अत्यावश्यक कागजात एक घण्टाभित्रै उपलब्ध गराउने प्रणाली विकास गर्ने प्रतिबद्धता जनाउँदै उहाँले प्रविधिमार्फत पारदर्शिता र छिटोछरितो सेवा प्रवाह नै आफ्नो प्राथमिकता रहने बताउनुभयो। नयाँ राजनीतिक शक्तिहरूप्रति कटाक्ष गर्दै उहाँले अनुभवहीन 'ड्राइभर'ले गाडी दुर्घटना गराउन सक्ने भएकाले कामको अनुभव भएको र इतिहास बोकेको रुख छापमा मतदान गर्न मतदाताहरूलाई आग्रह गर्नुभयो।

आफ्नो निर्वाचन क्षेत्र धनुषा–३ का लागि निधीले स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका योजनाहरू अघि सार्नुभएको छ। उहाँले ग्रामीण क्षेत्रमा तीनवटा प्रसूति र तीनवटा बाल अस्पताल निर्माण गर्ने योजना सुनाउनुभयो। कृषिको समस्या समाधानका लागि जिल्लामै मल कारखाना खोल्ने पहल गर्ने र रामजानकी स्टेडियमलाई पूर्णता दिँदै स्पोर्ट्स एकेडेमी सञ्चालन गर्ने उहाँको संकल्प छ। आफू भौतिक पूर्वाधार मन्त्री हुँदा ६ लेनको सडक निर्माण, राजर्षि जनक विश्वविद्यालयको स्थापना र मधेस प्रदेशको राजधानी जनकपुर बनाउन खेलेको निर्णायक भूमिका नै आफ्नो जितको मुख्य आधार भएको दाबी गर्दै उहाँले भोलिको सुन्दर र शान्त नेपालका लागि कांग्रेसलाई जिताउन अपिल गर्नुभयो।

प्रतिक्रिया