४० वर्षे राजनीतिक यात्रामा सातौँ पटक दल बदल्दै जितेन्द्रनारायण देव पुनः कांग्रेसमा

nepaltext.com

काठमाडौं । नेकपा एमाले त्यागेको एक महिना नपुग्दै पूर्वमन्त्री एवं संविधान सभा सदस्य जितेन्द्रनारायण देव औपचारिक रूपमा नेपाली कांग्रेसमा फर्किएका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै देवले आफू र आफ्नो समूह कांग्रेसमा फर्किएको घोषणा गरेका हुन्।

विज्ञप्तिमा उनले सभापति गगन थापाको नेतृत्व र पार्टीको नवीन नीतिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन्। "सभापति गगन थापाको नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्ध तथा आस्थावान् रही आजैका मितिदेखि म सहित मलाई सहयोग र समर्थन गर्दै सधैँ साथ दिँदै आएको सम्पूर्ण साथीहरू नेपाली कांग्रेसमा फर्केको औपचारिक रूपमा सार्वजनिक घोषणा गर्दछु," विज्ञप्तिमा उल्लेख छ।

देवले विशेष राष्ट्रिय महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रगमनकारी सोचको नेतृत्वले देशमा सामाजिक–राजनीतिक रूपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढङ्गले अघि बढाउने विश्वास व्यक्त गरेका छन्। उनले सभापति थापाको नेतृत्वमा पार्टीलाई बदल्ने कार्य सुरु गरे जस्तै देशलाई पनि बदल्ने जिकिर गरेका छन्।

राजनीतिक वृत्तमा अनुभवी नेताका रूपमा चिनिने देवको ४० वर्षे लामो राजनीतिक जीवनमा यो सातौँ पटकको दल परिवर्तन हो। यसअघि उनी कांग्रेससहित नेकपा (मानन्धर), नेकपा (एमाले), नेकपा (माले), मधेशी जनअधिकार फोरम र लोकतान्त्रिक फोरममा समेत आबद्ध भइसकेका छन्। पछिल्लो पटक एमालेमा सक्रिय रहेका उनी गत महिना मात्रै सो पार्टीबाट अलग भएका थिए।

प्रतिक्रिया