नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले संघीयता र समावेशी लोकतन्त्रविरुद्ध कानुन ल्याउन हालको सरकार सक्रिय रहेको आरोप लगाएकी छन्।
जनकपुरधाममा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भुसालले सरकारले सुशासन विपरीतका गतिविधि गर्दै भ्रष्टाचारजन्य कार्यलाई प्रोत्साहन गर्ने, प्रतिद्वन्द्वीहरूमाथि प्रतिशोध लिने र जनविरोधी भूमि सम्बन्धी कानुन ल्याउनेजस्ता कदम चालेको बताइन्। यी गतिविधिले संघीयता र समावेशी लोकतन्त्रलाई कमजोर बनाउन खोजिएको स्पष्ट हुन्छ, उनले भनिन् ।
पूर्वमन्त्रीसमेत रहेकी भुसालले संघीय कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको निजामति ऐनमा अनावश्यक छेडखानी गरिएको र शिक्षा विधेयकलाई रोकेर संविधानको मूल मर्म विपरीत काम भइरहेको टिप्पणी गरिन्।
उनले नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव समूह र जनता समाजवादी पार्टीसँग सकारात्मक वार्ता भइरहेको उल्लेख गर्दै विचार तथा कार्यदिशा मिल्ने दलहरूसँग एकता सम्भावना खोजिएको जानकारी दिइन्।
भुसाल आइतबार धनुषाको मिथिला विहारी नगरपालिकास्थित मिथिलेश्वरमा आयोजित शहीद चन्देश्वर मण्डलको २०औँ स्मृति सभामा सम्बोधन गर्ने कार्यक्रम छ। त्यस्तै सोमबार गणेशमान चारनाथ नगरपालिकास्थित बरमझियामा हुन लागेको शहीद रामवृक्ष यादवको ३१औँ स्मृति सभामा समेत उनको सहभागिता रहनेछ।