चरीकोट । आगामी निर्वाचनको पूर्वसन्ध्यामा दोलखामा राजनीतिक गतिविधि तीव्र बन्दै जाँदा विभिन्न दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको क्रम बढेको छ। यही क्रममा दोलखा बिगु–२ का महेश्वर आचार्यको नेतृत्वमा एक समूह नेपाली कांग्रेसमा आबद्ध भएको छ। पार्टी प्रवेश गर्ने नवसदस्यहरूलाई नेपाली कांग्रेस दोलखाका प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार अजयबाबु शिवाकोटी र जिल्ला सभापति वर्मा लामाले सोमबार अबिर लगाएर स्वागत गरेका हुन्। सो अवसरमा नेताद्वयले कांग्रेसको सिद्धान्त, नीति र आगामी योजनाबारे जानकारी गराउँदै संगठन विस्तार र निर्वाचन तयारीमा सक्रिय भएर लाग्न आग्रह गरेका छन्।
नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूमा बिगु–२ का तुङ्गबहादुर आचार्य, उमा आचार्य, बलेकुमारी आचार्य, बुद्धबहादुर तामाङ, रीकुमारी आचार्य, मनिषा आचार्य, पर्मिला मगर र वेतनप्रसाद शिवाकोटी रहेका छन्। यस्तै, गौरीशंकर–८ बाट सिङमान तामाङ र चटक तामाङ तथा कालिन्चोक–५ बाट हिरा थामी पनि कांग्रेसमा आबद्ध भएका छन्। नवप्रवेशीहरूले कांग्रेस नेतृत्वको स्पष्ट विकास दृष्टिकोण र लोकतान्त्रिक मूल्यप्रति आफूहरू प्रभावित भएको जनाउँदै पार्टी परिवर्तनको निर्णय लिएको बताएका छन्। दोलखाको समग्र विकास र लोकतन्त्रको सुदृढीकरणका लागि अजयबाबु शिवाकोटी जस्ता युवा नेतृत्व आवश्यक रहेको अनुभूति गर्दै कांग्रेस रोजेको उनीहरूको भनाइ छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा दोलखाका विभिन्न गाउँ र टोलहरूमा पार्टी प्रवेश, कार्यकर्ता भेटघाट र सांगठनिक छलफलको क्रमले तीव्रता पाएको छ, जसले जिल्लाको राजनीतिक सरगर्मीलाई थप बढाएको देखिन्छ।