पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलो कदम चाल्दै पाँच पूर्वमन्त्रीसहितका व्यक्तिहरूविरुद्ध मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाएको छ । आयोगको टोली अहिले विशेष अदालतमा उपस्थित भई मुद्दा दर्ताको अन्तिम चरणमा रहेको जनाएको हो । विमानस्थल निर्माणमा संघीय कोषमा ठूलो रकम हानि भएको ठहरका आधारमा अख्तियारले ८ अर्ब ३६ करोड रुपैयाँ बिगो मागदाबी राख्दै मुद्दा अदालतमा पु¥याएको छ ।
आयोगले तत्कालीन मन्त्री भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र दिवंगत पोष्टबहादुर बोगटीलाई प्रतिवादीको सूचीमा समावेश गरेको छ । बोगटी अब जीवित नरहेकाले उनको स्थानमा उनकी पत्नी राममाया बोगटीलाई विपक्षी बनाइएको छ । अख्तियारका अनुसार विमानस्थल निर्माण प्रक्रियामा नीतिगत निर्णय दुरुपयोग, अनुबन्ध तोडमोड र आर्थिक अनियमितताका गम्भीर आरोपहरू पुष्टि भएकाले विशेष अदालतमा प्रत्यक्ष मुद्दा दायर गर्ने निर्णय गरिएको हो ।