ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि निर्मम हत्या गरिएको अवस्थामा शव फेला परेको छ । घरमै पसल सञ्चालन गर्दै आएका वृद्ध दम्पतीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको आशंका गरिएको छ । यसअघि एक महिनाअघि पनि सोही भदौरेमा ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी रत्नमाया थापामगरको सानो पसलमा लुटपाट गरी हत्या गरिएको थियो । वडाअध्यक्ष बलराम कटवालका अनुसार लगातार दुई दम्पतीमाथि यसरी लुटपाटपछि हत्या हुनु गम्भीर र भयावह विषय भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसी घटनास्थलतर्फ प्रस्थान गरिसकेको र प्रारम्भिक अनुसन्धान सुरु भइसकेको जनाएका छन् । यसअघि मगर दम्पतीको हत्यामा संलग्न आरोपमा चार जना पक्राउ परिसकेका छन् भने पछिल्लो वृद्ध दम्पतीको हत्याबारे थप विवरण र अपराधी पहिचानका लागि प्रहरीले सघन अनुसन्धान अघि बढाएको जनाएको छ ।