'अब सरकारको गोलीबाट कुनै युवाको ज्यान जाँदैन' : सुर्खेतबाट गगन थापा

nepaltext.com

सुर्खेत, फागुन १४ नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनका बारेमा विभिन्न शक्तिहरूले संशय पैदा गर्ने प्रयास गरिरहेको बताएका छन्। सुर्खेतमा आयोजित विशाल चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले मुलुकको संविधानलाई सही दिशा (ट्र्याक) मा ल्याउनका लागि निर्वाचनको कुनै विकल्प नभएको स्पष्ट पारे। उनले निर्वाचनका विरुद्धमा सिर्जना गर्न खोजिएका भ्रम र संशयलाई चिर्दै तोकिएकै समयमा सफलतापूर्वक चुनाव सम्पन्न गराउनका लागि कांग्रेसले सरकारलाई पूर्ण साथ दिने प्रतिबद्धता व्यक्त गरे। निर्वाचन सफल बनाउने आफ्नो अडानबाट पार्टी एक इन्च पनि तलमाथि नहुने उनको जिकिर थियो।

आफ्नो सम्बोधनका क्रममा थापाले विगतका दुःखद राजनीतिक घटनाक्रमहरूको स्मरण गर्दै अबका दिनमा राज्यपक्षबाट हुने हिंसाको अन्त्य हुने आश्वासन दिए। विशेषगरी भदौ २३ र २४ गतेका घटनाहरूलाई बिर्सिन नसकिने उल्लेख गर्दै उनले अब देशमा सरकारको गोलीबाट कुनै पनि युवाको ज्यान नजाने र नागरिकको जिउधनको पूर्ण सुरक्षा हुने बताए। उनले लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने शक्तिहरूले मात्रै मुलुकलाई समृद्धितर्फ लैजान सक्ने बताउँदै अराजकतावादी सोचको कडा आलोचना गरे।

यसैगरी, सभापति थापाले पछिल्लो समय बढ्दै गएको उग्रवादी र अराजक प्रवृत्तिप्रति लक्षित गर्दै कडा चेतावनी दिएका छन्। उनले कुनै पनि 'मुकुटधारी' ले सिंहदरबार जलाउने वा प्रणालीलाई नै ध्वस्त पार्ने सपना देख्नु दिवास्वप्न मात्र हुने बताए। यस्ता प्रवृत्तिको अन्त्य गर्दै विधि र विधानको शासन स्थापित गर्न कांग्रेस सधैँ अग्रपङ्क्तिमा रहने उनको भनाइ थियो। आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनको संघारमा थापाको यो सम्बोधनलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

प्रतिक्रिया